FAQs Complain Problems

युवा पलायन रोक्न सय युवालाई गाउँपालिकामै रोजगारी कालीकोटको पलाँता गाउँपालिकाले सय युवालाई दियो रोजगारी, मासिक ज्याला २४ हजार

बढ्दो युवा पलायनलाई रोक्न कालीकोटको एक गाउँपालिकाले युवाहरुलाई गाउँमै रोजगारीको असर सिर्जना गर्न थालेको छ। पलाँता गाउँपालिकाले विकास निर्माणका काममा युवाहरुलाई लगाउने उद्देश्यका साथ कार्यदल नै बनाएर काम थालिसकेको छ।

 

 ‘सडक तथा विकास निर्माणका अन्य कामहरुमा युवाहरुलाई परिचालन गर्ने र युवाहरुको पालयनलाई रोक्नका लागि यो खालको कामको सुरुवात गरिएको हो’, गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बमले नेपालखबरसँग भने।

उनले युवाहरुको प्रतिनिधित्व मिलाउन गाउँपालिकाका ९ वटै वडाहरुबाट १०र१० जना युवाहरु र गाउँपालिकाले सिफारिस गरेका १० युवा गरी सय युवाहरुको समन्वय समिति बनाइएको जानकारी दिए।

‘गाउँको समग्र विकासका लागि १० वर्षे गुरुयोजना बनाएर अगाडि बढ्दै छौँ’, उनले भने, ‘तत्कालका लागि युवाहरुलाई लक्षित गरेर कार्यक्रम अगाडि बढाएका हौँ।’

उनले गाउँपालिकाको विकास निर्माणको कार्यमा जनशक्तिको अभाव हुन नदिन वर्षभरी नै ज्यालादारीका हिसाबले मासिक २४ हजार दिने गरी युवाहरुलाई काममा परिचालन गरिएको बताए।

गाउँपालिका भित्रका युवाहरुलाई समन्वय गरेर कार्यदल निर्माण गरेको र त्यसले उपभोक्ता समितिसँग समन्वय गरेर काम अगाडि बढाइसकेको गाउँपालिकाका कार्यकारी अधिकृत लेखबहादुर क्षेत्रीले नेपालखबरसँग बताए।

 

गाउँपालिकाका कार्यकारी अधिकृत लेखबहादुर क्षेत्री

 

कार्यदलका सदस्यले महिनाका २४ दिन काम गर्ने र बाँकी ६ दिनमा ३ दिन सरसफाइ र ३ दिन सामाजिक कार्य गर्ने उनले बताए।

उनले कार्यदलका सदस्यहरुले दैनिक ८ घण्टाका हिसाबले काम गर्नुपर्ने र ८ घण्टा कामको ज्याला ८ सय नै तोकिएको उनले जानकारी दिए।

कार्यकारी अधिकृत क्षेत्रीका अनुसार युवाहरुको समन्वय समितिले उपभोक्ता समितिसँग समन्वय गरेर काम अगाडि बढाइसकेका छन्। उनले युवाहरुलाई सेवा, सुविधा र ज्याल उपभोक्ता समितिले दिने र गाउँपालिकाले समन्यव गरिदिने जानकारी दिए।

ज्यालादारी हिसाबले काम गरे पनि गाउँपालिकाले उनीहरुको एक लाख ५० हजारको ५० हजारको दुर्घटना बिमा गराएको छ। गाउँपालिकाका अध्यक्ष बमले युवाहरुले काम थालिसकेको र पुस महिनाको २४ हजार ज्याला समिते बुझिसकेको जानकारी दिए।

सुख्खा भूमिका रुपमा परिचित पलाँतका केही क्षेत्र कृर्षिका लागि पनि उपयुक्त रहेको भन्दै उनले कृषि क्षेत्रको विकासका लागि पनि गाउँपालिकाले योजना बनाएर अगाडि बढ्ने जानकारी दिए। त्यस्तै प्रत्यक वडामा सहकारी निर्माणका लागि पनि बजेट विनियोजन गरी पठाइसकिएको उनले बताए।

यहाँका युवाहरु कामका लागि वर्षमा ६ महिना भारत जाने प्रचलन रहेको कार्यकारी अधिकृत क्षेत्रीले बताए। ‘बर्खा लगाइएको बाली भित्राइसकेपछि यहाँका युवा केही समय भारत कामको खोजीमा निस्कन्छन्’, उनले भने। पलाँता युवाहरु खाडी मुलकमा कम र भारत बढी जाने प्रचलन रहेका कार्यकारी अधिकृत क्षेत्रीको भनाई छ।

पलाँताबाट वैदेशिक रोजगारीमा जाने युवाको आधिकारीक तथ्यांक नभए पनि धेरै युवा विदेश पलायन भएका छन्। ‘अस्थायी रुपमा ५/६ महिनाका लागि भारत काममा जाने युवाहरुको संख्या बढी छ’, उनले भने।

गत स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित ३१ वर्षीय बमले  आफू युवा भएका कारण आफ्नो प्राथमिकतामा युवा परे पनि गाउँपालिकाको समग्र विकासका लागि लागि पर्ने बताए।

गाउँपालिकाले युवाहरुलाई गाउँमै रोक्ने खालका कार्यक्रम ल्याएपछि अहिले त्यस क्षेत्रका बासिन्दा हर्षित बनेका छन्। उनीहरुले गाउँपालिकाले युवाहरुलाई जस्तै अन्य उमेर समूहका मानिसरुलाई पनि स्वरोजगारीको अवसर दिलाईदिन गाउँपालिकासँग आग्रह गरेका छन्।

आर्थिक वर्ष: