FAQs Complain Problems

कक्षा ११ र १२ का विद्यार्थीले भर्ना र मासिक शुल्क तिर्न नपर्ने

मनिराज पाण्डे/उज्यालो । 

कालिकोट, फागुन ४ – पलाता गाउँपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीबाट भर्ना तथा मासिक शुल्क नलिने निर्णय कार्यान्वयनमा ल्याएको छ । 

गरीबीको समस्यामा जीवन गुजारा गरिरहेका विद्यार्थीबाट भर्ना तथा मासिक शुल्क नलिने निर्णय गरिएको पलाता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर बमले बताउनुभयो । कक्षा ११ मा भर्ना हुने विद्यार्थीले अब रजिष्ट्रेशन शुल्क र परीक्षा शुल्क गरी कुल एक हजार राजश्व जम्मा गरे एक बर्षसम्म ढुक्कले पढ्न पाउने छन् । 

कक्षा १२ का विद्यार्थीले भने यो सुविधा पाउने छैनन् । उनीहरु अघिल्लो वर्षको विद्यार्थी भएकाले यो शुल्क छुट नहुने सरस्वती मावि थिर्पुका लेखापाल देवजङ बमले बताउनुभयो । अहिले कक्षा ११ मा भर्ना भएका विद्यार्थीले भने कक्षा १२ मा परिक्षा शुल्क वापत ६ सय रुपैयाँ बुझाउनु पर्ने छ ।

यसअघि रजिष्टे्रशन शुल्क र परिक्षा शुल्कका अतिरिक्त बार्षिक शुल्क वापत २ हजार ४ सय र भर्ना शुल्क १ हजार ५ सय गरी जम्मा ३ हजार ९ सय विद्यार्थीले विद्यालयमा बुझाउँदै आएका थिए । विद्यार्थीबाट उठाइएको वार्षिक शुल्क र भर्ना शुल्क विद्यालयले निजी शिक्षकको तलब र अन्य खर्च चलाउने गरेको सरस्वती माविका शिक्षक रणप्रसाद भट्टले बताउनुभयो ।

गाउँपालिकाले शिक्षक दरबन्दी मिलान गरी निजी श्रोतका शिक्षकलाई गाउँपालिका बाटै तलव दिने निर्णय गरेको पूर्णबहादुर शाहीले बताउनुभयो । पलाँता गाउँपालिकामा ६ वटा मावि भएपनि सरस्वती मावि थिर्पु, दुधेशिल्लो मावि बेर्सैनकोट, कर्णाली खिन र सरस्वती मावि राडुनेटाले मात्र कक्षा ११ र १२ मा भर्ना लिने गरेका छन् ।

आर्थिक वर्ष: